डा. सन् म्योङ्ग मुनको आत्मवृत्तान्त

विश्वलाई अँगाल्नुहोस्
The Universal Times
2069/10/1

जीवनमा लक्ष्य निर्धारण गर्नु रुख बिरुवा रोप्नुजस्तै हो । तपाइँले आफ्नो अगाडिको आंगनमा बयरको रुख रोप्नुभयो भने तपाइँको घरमा त्यही बयर फल्छ । तपाइँले आफ्नो घर नजिकको पाखामा स्याउका बिरुवा लगाउनु भयो भने त्यहाँ स्याउ नै फल्छ । तपार्इं आफ्ना लक्ष्य र तिनीहरूलाई कहाँ लगाउन चाहनुहुन्छ भन्नेबारेमा होसियारीपूर्वक विचार गर्नुहोस् । तपाइँले रोजेको लक्ष्य र तपाइँले रोप्न चाहेको रुखले तपाइँ सियोलको बयरको रुख वा अफ्रिकाको स्याउको रूख बन्न सक्नुहुन्छ । अथवा तपाइँ दक्षिण प्रशान्त क्षेत्रमा ताडको रुख बन्न सक्नुहुन्छ । तपाइँले रोपेको लक्ष्यले भविष्यमा सोहीअनुरुपको फल अवश्य नै दिन्छ । रोपणसम्बन्धी तपाइँको लक्ष्यको सर्वोत्कृष्ट ठाउँ कुन हो गहिरोसँग विचार गर्नुहोस् ताकि यसले सर्वोत्कृष्ट फल दिन सकोस् ।
तपाइँले आफ्नो लक्ष्य निर्धारण गर्नेक्रममा समग्र विश्वकै बारेमा विचार गरेको सुनिश्चित गर्नुहोस् । अफ्रिकाका बारेमा विचार गर्नुहोस्, गरिबी र रोगबाट त्यहाँका जनता पीडादायी अवस्थामा छन् । इजरायल र प्यालेस्टाइनमा आमजनता एकअर्का विरुद्ध बन्दुक तेस्र्याएर बसिरहेका छन् र धर्मका विषयमा सङ्घर्ष गरिरहेका छन् । अफगानिस्तानमा हानिकारक लागूऔषध बनाउनका लागि प्रयोग हुने अफिमको खेती गरेर त्यहाँका जनता जीविकोपार्जन गरिरहेका छन् । अमेरिकालाई हेर्नुहोस्, अति भोक र स्वार्थीपनले विश्वव्यापी आर्थिक सङ्कट निम्त्याउन योगदान गरिरहेको छ । इन्डोनेसियालाई हेर्नुहोस्, त्यहाँ भूकम्प र सामुद्रिक आँधीले दुःख दिइरहेको छ । यी मुलुकको सन्दर्भलाई आफैंसँग कल्पना गर्नुहोस् र कुन मुलुक तथा कुन परिस्थिति तपाइँका लागि सबैभन्दा उपयुक्त हुन्छ विचार गर्नुहोस् । त्यो भारत हुनसक्छ, जहाँ सायद नयाँ धार्मिक द्वन्द्व भड्किन सक्छ । अथवा यो रुवान्डा हुनसक्छ, जुन मुलुक सुख्खा र भोकमरीबाट प्रताडित भइरहेको छ । 
लक्ष्य निर्धारण गर्नेक्रममा कोरियाजस्तै सानो मुलुक भएकै आधारमा विद्यार्थीहरूले यो आफ्नो लक्ष्यका लागि त्यति ठीक होइन भनेर मूर्ख निर्णय गर्नु हुँदैन । तपाइँले के गर्नुहुन्छ भन्नेमा धेरै कुरा निर्भर हुन्छ, र विश्व परिदृश्यमा सानो मुलुक पनि कति ठूलो हुन्छ भन्ने कुराको कुनै सीमा    छैन । तपार्इंले ठूलो अफ्रिकी महादेशमा राम्रो काम गर्नुहोस् वा कोरियाजस्तो सानो मुलुकमा, तपाइँको लक्ष्य आकार वा आकृतिका आधारमा निर्भर हुन सक्दैन । तपाइँको लक्ष्य तपाइँको प्रतिभाले सबैभन्दा बढी कहाँ प्रभाव जमाएको छ भन्ने हुनुपर्दछ ।
जीवनमा तपाइँले गर्न चाहेका विषयमा निर्णय गर्नुअघि विश्वलाई नै तपाइँ आफ्नो रङ्गमञ्चका रुपमा विचार गर्नुहोस् । तपाइँले त्यसो गर्नुभयो भने तपाइँले प्रारम्भमा कल्पना गरेभन्दा बढी नै काम गर्ने सम्भावना 
पाउनुहुन्छ । तपाइँको जीवन एक पटकका लागि हो, त्यसैले यसलाई विश्वको चाहनाबमोजिम केही विशेष काम गर्नका लागि प्रयोग गर्नुहोस् । तपाइँ साहसिक अभियानमा नगई कुनै पनि द्वीपमा लुकेका खजाना वा सम्पदासम्म पुग्न सक्नुहुन्न । आफ्ना लक्ष्य निर्धारणमा विश्वलाई नै तपाइँको मञ्चका रुपमा विचार गरिरहँदा कृपया तपाइँ आफ्नै मुलुकभन्दा बाहिरका विषयमा सोचविचार गर्नुहोस् ।
सन् १९८० को दशकमा मैले धेरै कोरियाली विश्वविद्यालयका विद्यार्थीहरूलाई जापान र संयुक्त राज्य अमेरिका पठाएको थिएँ । म उनीहरूले कोरिया छाडून् भन्ने चाहन्थें, जहाँ दिनहुँजसो अश्रुग्यास प्रहार गरिन्थ्यो, र उनीहरूले व्यापक किसिमको विश्व परिदृश्य हेरुन् भन्ने मेरो धारणा थियो । इनारको पिँधमा बसेको भ्यागुत्ताले इनार बाहिर पनि ठूलो विश्व छ भन्ने विचार गर्न पक्कै सक्दैन ।
कोरियाली भाषामा विश्वव्यापी शब्द प्रवेश गर्नुअघि नै मैले विश्वव्यापीको सोच गरिरहेको थिएँ । अध्ययनका लागि म जापान जानुको एउटा कारण मैरो फराकिलो विश्व हेर्ने चाहना नै थियो । कोरियाले स्वतन्त्रता प्राप्त गर्नुअघि नै चीनको हैलारस्थित मन्चुरिया इलेक्ट्रिक कम्पनीमा काम गर्ने र चिनिया, रुसी र मङ्गोलियाली भाषा सिक्ने मेरो चाहनाको भित्री कारण पनि विश्व नागरिक बन्ने नै थियो । अहिले पनि म विश्वका धेरै ठाउँ हवाइजहाजबाटै यात्रा गरिरहेको छु । हरेक दिन फरक फरक मुलुक भ्रमण गरेपनि मलाई सबै मुलुक घुम्न छ महिनाभन्दा बढी समय लाग्छ ।
मानिसहरू धेरैवटा मुलुकमा छरिएर बसिरहेका छन्, र तिनीहरू भिन्न परिस्थितिमा बाँचिरहेका छन् । केही व्यस्त मुलुकहरू पनि छन् जहाँ खाना पकाउने पानीको अभाव छ, जबकी केही अन्य ठाउँहरूमा अत्यधिक पानी उपलब्ध छ । केही ठाउँहरूमा विद्युत्को अभाव छ, जबकी केही मुलुकमा उनीहरूले उत्पादन गरिरहेको विद्युत् खपत नहुने अवस्था छ । एक ठाउँमा कमी रहेका र अर्को ठाउँमा त्यही कुरा प्रचुर रहेका उदाहरण हामीबीच धेरै छन् । समानताका आधारमा वितरण गर्नेतर्फ मानिसको पर्याप्त ध्यान नपुगेर नै समस्या भइरहेको छ ।
कच्चा पदार्थमा पनि त्यही समस्या छ । केही मुलुकमा कोइला र फलामको प्रचुर भण्डार जमिनको सतहमै छ । तिनीहरूले यी पदार्थका लागि जमिन पनि खन्नु पर्दैन । तिनीहरूले सजिलै सतहमै पाइने कोइला र फलामको धाऊलाई बटुले मात्र पुग्छ । तर, कोरियामा कोइला र फलामको निकै समस्या छ । कडा कोइला उत्खनन् गर्न हामीले हजारौं फिट गहिराइमा पुगेर जीवनलाई नै जोखिममा पार्नु परिरहेको छ ।
प्रविधिमा पनि यस्तै अवस्था छ । अफ्रिकामा धेरै यस्ता ठाउँ छन् जहाँ प्रचुर मात्रामा केरा पाइन्छ, र यसले मानिसलाई भोकमरीबाट जोगाउन   सक्छ । तर त्यहाँ प्रविधिको अभाव छ र उत्पादनशील जमिनसम्मको पहुँचमा कमी छ, त्यसैले धेरै क्षेत्रमा केरा खेती गर्न सकिएको छैन । कोरियाको जलवायु केरा खेती गर्न त्यति उपयुक्त छैन, तैपनि हामी केही उत्पादन गरिरहेका  छौं । कोरियाली प्रविधि अफ्रिकाको गरिबीको समस्या समाधान गर्न धेरै सहयोगी हुन सक्छ । अन्न लगाउन अपनाइएको दक्षिण कोरियाली प्रविधिले उत्तर कोरियाको भोकमरीमा राहत प्रदान गर्न धेरै नै मद्दत पु¥याएको छ ।
“विश्व नेता” भन्ने वाक्यांश अहिले कोरियामा निकै स्वीकार्य छ । मानिसहरू भन्दैछन्, उनीहरू अंग्रेजी भाषामा पारङ्गत हुने कोसिस गरिरहेका छन् र विश्वमै नेतृत्व प्रदान गर्न खोजिरहेका छन् । तर, विश्वमै नेतृत्व गर्ने कुरा कुनै व्यक्तिले अंग्रेजी भाषा पारङ्गत हुँदैमा सम्भव छैन । अंग्रेजी भाषामा सञ्चार गर्ने क्षमता एउटा साधन बाहेक केही होइन । विश्वव्यापी नेता हुन कसैले पनि आफ्नै हृदयमा विश्वलाई आत्मसात गर्न सक्नुपर्दछ । विश्वका समस्याप्रति खासै अभिरुचि नहुने व्यक्ति विश्वको नेता हुनै सक्दैन, चाहे जतिसुकै सहज ढङ्गले उसले अंग्रेजी भाषामा सञ्चार गरोस् ।
विश्वकै नेता हुनका लागि कुनै पनि व्यक्तिले विश्वका समस्यालाई आफ्नै हो भन्ने ठान्नु पर्दछ र कठिन समाधान पत्ता लगाउन पथप्रदर्शक भावना हुनुपर्दछ । कुनै व्यक्तिले सुरक्षित र तोकिएको आम्दानी गरिरहेको छ, अथवा अवकाशपछि निवृत्तीभरण पाउने सपना देख्छ र सुविधाजनक जीवन बिताउन चाहन्छ भने ऊ विश्वको नेता हुन सक्दैन । कुनै पनि व्यक्तिले विश्वकै नेता हुनका लागि विश्वलाई नै आफ्नै देश सम्झनु पर्दछ र सम्पूर्ण मानवलाई आफ्नै दाजुभाइ र दिदीबहिनी हुन् भनी ठान्नु पर्दछ । भविष्यका बारेमा आफूलाई केही थाहा छैन भनेझैं गरी असाध्यै सरोकारविहिन हुनु ठीक होइन ।
दाजुभाई दिदीवहिनी के हुन् ? ईश्वरले हामीलाई दाजुभाइ र दिदीबहिनी किन दिनु भएको हो ? दाजुभाई दिदीवहिनीले विश्वभरका सम्पूर्ण मानवलाई जनाउँछ । परिवारमा हाम्रा दाजुभाइ र दिदीबहिनीप्रति देखाइने प्रेमभावले नै आफ्नै मुलुकका नागरिक र मानवलाई कसरी प्रेम दर्शाउनु पर्दछ भनेर हामीलाई सिकाउँछ । हाम्रै दाजुभाई दिदीवहिनीका लागि हाम्रो प्रेम यही ढङ्गबाट विस्तारित हुन्छ । एकअर्काप्रति प्रेम दर्शाउने परिवारका सदस्यहरू मिलेर कसरी सँगै बस्न सक्छन् भन्ने नमुना हुनसक्छ । सन्ततीहरूबीचको प्रेमको अर्थ हो, आवश्यकता परेका खण्डमा दाजुभाइ वा दिदीबहिनीको खानाका लागि अर्को सन्तती भोक खेप्न तयार हुन्छ । विश्वकै नेता त्यस्तो व्यक्ति हो जसले आफ्नै परिवार झैं मानवलाई प्रेम गर्दछ ।
हामीले “विश्वग्राम” भन्ने वाक्यांश सुनेको धेरै भएको छैन । तैपनि पृथ्वी नै एउटा सिंगो समुदायको रहँदै आएको हो । यदि कुनै व्यक्तिको जीवनको लक्ष्य विश्वविद्यालयबाट स्नातक गर्ने, धेरै तलब दिने कम्पनीमा रोजगारी पाउने र सुरक्षित जीवनयापन गर्ने हो भने उसले नगण्य सफलता प्राप्त गर्न सक्छ । तर यदि उसले आफ्नो जीवन अफ्रिकाका शरणार्थीलाई मद्दत पु¥याउने गरी आफूलाई समर्पित गर्दछ भने उसले ठूलो सफलता हासिल गर्न सक्छ । छनौट गरिएको मार्ग व्यक्तिको हृदयमा निर्भर गर्दछ ।
नब्बे वर्षको उमेरमा पनि मैले विश्वका विभिन्न भागमा घुम्ने क्रमलाई निरन्तरता दिइरहेकै छु । म आफ्नो अभियान कुनै पनि परिस्थितिमा छाड्न चाहन्न । यो विश्व नै जीवित जीव झैं छ र यो परिवर्तनशील पनि छ । नयाँनयाँ समस्या उत्पन्न भइरहन्छन् । म यस्ता समस्या रहेका विश्वका अँध्यारा कुनाहरूमा पुग्छु । यी ठाउँहरू सुन्दर दृश्यावलोकन वा सुविधासम्पन्न ठाउँहरू होइनन्, तर मलाई अँध्यारा, कठिन र एकान्त ठाउँहरू नै प्रिय लाग्छन् किनभने म तिनै ठाउँमा आफ्ना अभियान, आफ्ना उद्देश्य र आफ्ना लक्ष्य पूरा गरिरहेको हुन्छु ।
मेरो विश्वास छ कि, कोरियाले वास्तविक अर्थमा विश्व नेताहरू उत्पादन गर्नेछ । म बढीभन्दा बढी राजनीतिक नेताहरूले आफ्ना उद्देश्य पूरा गर्न संयुक्त राष्ट्र सङ्घमा नेतृत्व गरेको देख्न चाहन्छु । साथै बढीभन्दा बढी कूटनीतिक नेतृत्वले द्वन्द्वग्रस्त क्षेत्रमा भइरहेका लडाइलाई रोक्न सकून् । म मदर टेरेसाजस्तै कोही व्यक्ति भेट्ने आशामा छु जसले सडकमा भौंतारिइरहेका तथा मृत्युवरण गरिरहेका व्यक्तिको स्याहार गर्न सकोस् । म शान्ति नेतृत्वकर्ताहरू पनि देख्न चाहन्छु जसले जमिन र समुद्र मार्फत नयाँ समाधान निकाल्ने मेरो अभियानलाई साथ दिन सकून् ।
यसका निम्ति आरम्भ विन्दु भनेकै सपना र लक्ष्य हो । कृपया पथप्रदर्शक र साहसिक यात्राको भावना जागृत गराउनुहोस् । सपनाले नै अन्यले कल्पना गर्न साहस नगरेका कुराको सपना देख्दछ । तपाइँ आफैंले अर्थपूर्ण ढङ्गबाट लक्ष्य निर्धारण गर्नुहोस् र मानवका निम्ति कल्याण गर्न सक्ने विश्व नेता बन्नुहोस् ।

blog comments powered by Disqus

मुद्रा विनिमय

  • Currency
  • Unit
  • Buying
  • Selling
  • Indian Rs
  • 100
  • 160.00
  • 160.15
  • US $
  • 1
  • 103.46
  • 104.06
  • EURO
  • 1
  • 115.65
  • 116.32
  • POUND
  • 1
  • 134.43
  • 135.21
  • Ch Yuan
  • 1
  • 16.35
  • 16.44
  • Jap Yan
  • 10
  • 9.95
  • 10.01
अन्य

मौसम

Weather of   2012-03-17 ( Saturday )
  • Station
  • Max(°)
  • Min(°)
  • Dadeldhura
  • 21.8
  • 10.0
  • Dipayal
  • 29.8
  • 9.6
  • Dhangadi
  • 29.2
  • 13.0
  • Birendranagar
  • 28.2
  • 10.5
  • Nepalgunj
  • 29.4
  • 13.0
  • Jumla
  • 18.9
  • -1.5
  • Dang
  • 27.0
  • 12.5
  • Bhairahawa
  • 27.4
  • 14.8
  • Simra
  • 29.5
  • 11.5
  • Kathmandu
  • 25.5
  • 7.2
  • Okhaldhunga
  • 21.2
  • 00
  • Jiri
  • 17.4
  • 1.1
  • Rajbiraj
  • 29.5
  • 15.0
Peace Nepal DOT Com
N/Athe universal timesN/AN/AN/AN/AN/AN/AN/AThe Universal Times

Site Hits

This site has been visited

counter customisable
Times since April 06, 2011